४ आश्विन २०८१, शुक्रबार 1726889119
Banner

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।

चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बीबीसीले जनाएको छ । एटीआर ७२–५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो । विमान आवासीय क्षेत्रमा खसेको हो । तर, विमान खसेको आवासीय क्षेत्रमा भने अरु कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन् ।​

दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् । ब्राजिल एयर फोर्स टोलीले दुर्घटनाको कारण पत्ता नलागेको र अनुसन्धान हुने जनाएको छ ।