४ आश्विन २०८१, शुक्रबार 1726864587
Banner

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे । कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई थियो ।

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महशुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए । उनले आफूहरुबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे ।

महामन्त्री शर्माले सत्तारुढ दलहरुबीच विमतिका कयौं विषयहरु रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्नेकुरा हुनै नसक्ने बताए । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए ।

महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरुलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा असहमत छ ।

राजनीतिमा यस्तो हुन्छ नि त । नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौ हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त । पार्टी नै हामी फरक हो नि त । विचार नै फरक हो नि त, पृष्ठभुमि नै फरक हो नि त । सोचाई, शैली, संगठन सबै कुरा फरक हो नि त । फरक चिज मिल्दै गर्दाखेरी चुप चुप भत्किन्छ ।

केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने । एमालेका केही बोल्दाखेरी शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर एमाले चुप लाग्न थाल्ने । हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन । यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमती गरेर गएका छौं । जति विमतिका विषयहरु छन् । त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ ।’