३१ भाद्र २०८१, सोमबार 1726537645
Banner

भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिए पनि हरेक वर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । तर कोभिड–१९ लगायत समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्यभन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

भरतपुर महानगरपालिका मेडिकल सिटीका रूपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरूले विशेष महत्त्व राख्ने उहाँको भनाइ थियो । प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिई विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको बताउनुभयो । जिल्ला समवन्य समितिका प्रमुखनारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गर्नुभयो ।

चितवनभन्दा बाहिरबाट छोटो समयका लागि भरतपुर बसोबास गर्न  बालबालिकाहरू आउने गरेका कारण खोप नलगाएका बालबालिका यकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । विशेषगरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।

आर्थिक वर्ष २०८०/०८१ माघ र फागनु महिनामा ३१ हजार ८११ घरधुरीमा स्वास्थ्यकर्मी स्वयंसेविका पुगी १२ हजार ७६३ जना बालबालिकालाई पूर्ण खोप सर्वेक्षण गर्दा एउटा पनि खोप नलगाएका छ जना फेलापरेका थिए । अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जनालाई खोप लगाइएको थियो । जिल्ला खोप समन्वय समितिबाट २०८१ असार २६ गते पूर्ण खोप दिगोपना सुनिश्चिता प्रमाणीकरण गरिएको थियो ।

हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्र समुदायस्तरमा सञ्चालित छन् ।

भरतपुर महानगरपालिकामा अन्तर्गत एउटा प्रथामिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, तीनवटा नगर स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य क्लिनिक, एउटा मातृ शिशु क्लिनिक, ६ वटा आर्युवेद औषधालय र एउटा सामुदायिक स्वास्थ्य इकाई छन् ।

खोप वितरणका लागि चार वटा कोल्ड चेनसहितका खोप वितरण केन्द्र छन् । त्यसमध्ये एउवटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।