४ आश्विन २०८१, शुक्रबार 1726860032
Banner

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौँ, २८ साउनः पशुपतिमा भजनकीर्तन पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन मन्दिर परिसरको भजनकीर्तनमा नृत्य प्रस्तुत गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ । 

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । 

काठमाडौँ, २८ साउनः पशुपतिमा लामवद्ध भक्तजन साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरको पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका  छन् ।