८ आश्विन २०८१, मंगलबार 1727172948
अर्थ

नेपाल हस्पिटालिटी कन्क्लेभ आयोजना हुँदै

काठमाडौँ, २ भदौ: नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनमा टेवा दिने उद्देश्यका साथ आगामी असोज १० गतेदेखि काठमाडौँमा ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२४’ को आयोजना हुने भएको छ । बुढानीलकण्डस्थित ‘लेमोन ट्रि प्रिमियर होटल’ मा आयोजना हुने उक्त कार्यक्रमले आतिथ्य क्षेत्रका सम्भावना, चुनौती र सरोकारवालाको दायित्वबारे साझा धारणा तयार गर्ने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

होटल एशोसियशन नेपालसँगको सहकार्यमा विनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना हुन गइरहेको दोस्रो संस्करणको कन्क्लेभले होटल क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारको आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने आयोजकले जनाएको छ । होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उद्योगबारेमा जान्न, बुभन र सिक्न चाहनेका लागि पनि यस कार्यक्रम उपलब्धीमुलक हुने दाबी गरिएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा होटल सञ्चालक, सम्भावित लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्व वर्ग, सेवाप्रदायकलगायत यस क्षेत्रसँग सम्बन्धित करिब दुई सय जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालमा होटलको वर्तमान अवस्था, समस्या एवं चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, सूचना प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारीलगायत आतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषय घनीभूत छलफल हुने बताउनुभयो । “यस महत्वपूर्ण कार्यक्रमको आयोजनामा सहकार्य गर्न पाउँदा होटल सङ्घ परिवार उत्साहित छ ।

कार्यक्रमको दौरान हुने छलफल एवं विचार विमर्शले नेपालको सेवा क्षेत्रलाई थप उचाइ दिन सघाउ पुग्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो । सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजना हुन गइरहेको कन्क्लेभ सान्दर्भिक हुने आयोजकको भनाइ छ । सङ्घका अध्यक्ष शाहले हालको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेको र त्यसमा खर्बौ लगानी भइसकेको भन्दै यसको भरपुर उपयोग प्रतिफलका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी भएको खाँचो औँल्याउनुभयो । विनस्टक एसिया नेपालको सहसंस्थापक तथा नेपाल हस्पिटालिटि कन्क्लेभका प्रमुख संयोजक सुबोध थापाले नेपालको आतिथ्यता क्षेत्रको भविष्यको मार्ग तय गर्नका लागि कन्क्लेभ कार्यक्रम एक रणनीतिक मञ्च हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको होटल क्षेत्रमा पछिल्लो समय आइरहेको बृहतस्तरको लगानी, दिगो अभ्यासहरुको बढ्दो आवश्यकता र यस क्षेत्रभित्र तीव्र बन्दै गइरहेको प्रतिस्पर्धाको पृष्ठभूमिमा कन्क्लेभको महत्वपूर्ण बढेर गएको छ ।” कन्क्लेभले नेपालको आतिथ्य क्षेत्रले हाल भोग्दै आएको समस्याको निवारण गरी यसलाई थप मजबुत एवं संस्थागत बनाउन अवलम्बन गरिनुपर्ने उपाय र चालिनुपर्ने कदमलाई जोड दिँदै सरकारलाई विभिन्न सुझावसहितको श्वेतपत्र तयार गर्ने आयोजकले जनाएको छ ।