२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:46 pm
Banner

कान खोलेर सुन, एमाले फेरि सरकारमा जान्छ : अध्यक्ष ओली

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, १३:३४ बजे २ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीको अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेका छन् । आफूहरूलाई थुन्ने धम्की दिएर राजनीतिक नेतृत्वलाई मजाकको पात्र बनाउन खोजिएको भन्दै ओलीले आईजीपीको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।

ओलीले आईजीपी केसीले आफू, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई थुनिदिने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै भने, ‘आईजीपीले होसमा बोलेको हो कि बेहोसमा बोलेको हो ? जो आउँछ, थुनिदिन्छु भन्छ । जो आउँछ, थुनिदिन्छु भन्छ ,के हामी मजाकका पात्र हौँ ?’

आफूहरू  अहिलेका आइजीपी प्रहरी सेवामा प्रवेश गर्नुभन्दा धेरै अघिदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै ओलीले राजनीतिक नेतृत्वलाई हल्का रूपमा नलिन चेतावनी दिए । ‘आईजीपीले बोल्ने त्यस्तै हुन्छ ? उनी सिपाही हुनुभन्दा अगाडिदेखि हामी राजनीतिमा थियौँ । हामी राणाशासन, पञ्चायती व्यवस्था र राजाको निरंकुशताविरुद्ध लडेका नेता हौँ । हामीलाई मजाकको विषय नबनाऔँ,’ ओलीले आक्रोशित हुँदै भने ।

छ महिनाको जागिरे जीवन बिताउने एउटा सिपाहीले वर्षौँदेखि राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका नेतामाथि धम्कीपूर्ण भाषा प्रयोग गर्नु उचित नभएको उनको टिप्पणी थियो । कसैलाई थुन्ने अभिव्यक्ति दिनुभन्दा प्रमाण भए कानुनअनुसार कारबाही गर्न ओलीले चुनौती दिए ।

‘प्रमाण छ भने थुने भो नि त ! अरूलाई थुन्छु भन्ने आईजीपी आफैँ पनि प्रमाण भए थुनिनुपर्ला नि !’ ओलीले प्रश्न गरे । गृहमन्त्रीले फाइल खोल्ने अभिव्यक्ति दिइरहेको प्रसंगमा ओलीले फाइल खोल्न कसैले नरोक्ने बताए । तर, प्रमाणबिनाको धम्की र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयासबाट एमाले नडराउने उनको भनाइ थियो । ‘गृहमन्त्री भन्छन्, फाइल खोल्दै छौँ ,खोले भो नि त ! मनोवैज्ञानिक त्रास देखाउन खोजिएको होला । एमाले यस्ता हावादारी त्रासबाट हल्लिनेवाला छैन,’ ओलीले भने । ओलीले एमाले पुनः सरकारमा फर्किने दाबीसमेत गरेका छन् । एमालेले मुलुकको नेतृत्व सम्हालेर सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गरेरै छाड्ने उनको उद्घोष थियो ।  ‘कान खोलेर सुन, एमाले फेरि सरकारमा जान्छ । सुखी नेपाली, समृद्ध नेपालको सपनालाई पूरा गरेरै छाड्छ,’ ओलीले भने ।