६ आश्विन २०८१, आइतबार 1726996759
समाचार

सञ्चारमाध्यममा महिलाका मुद्धालाई प्राथमिकतामा राख्न अनेमसंघको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला संघले सञ्चार माध्यममा आउने समाचार महिलामैत्री नभएको गुनासो गरेको छ । अनेमसंघले गाउँ गाउँमा गएर महिलाका गम्भिर मुद्धामा बहस चलाईएपनि सञ्चारमाध्यममा भने प्राथमिकतामा नपरेकोमा असन्तुष्टि व्यक्त गरेको हो् ।

अनेमसंघको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अन्तर्क्रियामा कार्यक्रमा अध्यक्ष टुका भद्रा हमालले ‘महिला सहभागिताका बिषयमा हरेक मञ्चमा कुनै मञ्च छैन जहाँ ५० प्रतिशत सहभागिताको कुरा नउठेको होस, पार्टीमा त्यो अवसर लिनका लागि सदस्यता विस्तार अभियानदेखि आगामी निर्वाचनमा तीनवटै तहको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने भन्दै प्रचारात्मक एजेन्डा बनाएर अघि बढिरहे पनि त्यसको खासै प्रचार नभएको बताउनुभयो ।

वडा र टोल तहसम्म गरिरहेको संगठन विस्तारलगायतका कार्यक्रम र आन्तरिक सम्मेलनहरूमा संघले जनसंख्याको आधारमा पुरुषसरह ५० प्रतिशत समान सहभागिताको मुद्दालाई प्राथमिकतासहित प्रचारात्मक एजेन्डा बनाएको उहाँले बताउनुभयो । ‘संघले आयोजना गरेको देशभरका वडा र टोलसम्मका कार्यक्रम र सम्मेलनहरूमा हामीले जनसंख्या अनुपातकै आधारमा महिलालाई अबको चुनावमा ५० प्रतिशत सहभागिता गराएर समान अवसर दिनुपर्ने विषयलाई उठाइरहेको बताउनुभयो । संगठन विस्तारमार्फत लक्ष्य पूरा गर्न अग्रसर भएको अवस्थामा मात्र समान सहभागिताको एजेन्डाले पूर्णता पाउने भन्दै उहाँले अबको निर्वाचनसम्म प्रस्ट योजना र सक्रियताका साथ त्यस दिशामा अग्रसर हुन महिला संघका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।

प्रचार तथा प्रकाशन विभाग प्रमुख कालिका पाठकले प्रचार अभियानलाई नयाँ ढंगले व्यवस्थित गर्दै अनेमसंघ समानताको एजेन्डा पूरा गर्ने दिशामा अगाडि बढ्ने बताउदै प्रेस चौतारीको सहयोग आवश्यक भएको बताउनुभयो । अनेमसंघका कार्यक्रमलाई थप प्रचार प्रसारका लागि चौतारीले पनि सक्रिय भुमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले महिला सहभागिताको ५० प्रतिशत पुरयाउने एजेन्डामा अनेमसंघ एक ढिक्का भएर अघि बढे आफुहरुले पनि साथ दिने बताउनुभयो । एजेन्डा उठाउने तर बिचैमा छोडने प्रबृत्तिलाई भने कुनैपनि हालतमा सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले अनेमसंघका नेतालाई सुझाब दिदै आफनो कामको प्रचार आफैले गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले समाचारको खोजि गरिरहेको अवस्थामा आफुले गरेको काम दर्शक श्रोता सम्म पुगोस भन्ने चाहना हुनेले फोटो र दुइचार लाइन समाचार आफैले पठाउनुपर्ने उहाँको सुझाब थियो । उहाँले महिला बाहेक सवैतिर पूग्ने अनेमसंघ र समाचार बाहेक सवै काम गर्ने प्रेस चौतारी नेपालका केही सदस्यका कारण कतिपय स्थानमा कामको प्रचार हुन नसकेको भन्दै त्यसता अनेमसंघ र चौतारीका नेता सच्चिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका पुर्व अध्यक्ष राजेन्द्र अर्यालले समाचारको संवेदनशीलतालाई ख्याल राख्दै समाचार बन्नुपर्नेमा जोड दिनुभयो । समाचार त आउँछन तर त्यसले खासै प्रभाव पार्ने खालका छैनन भने त्यसको महत्व त्यति नहुने उहाँको धारणा थियो । महिला सहभागिताका मुद्धा, जलवायु परिर्वतनले महिलाको जीवनमा परेको प्रभावका मुद्धा, सञ्चारमाध्यमले भोगेका दुखका मुद्धा उठाउन सके सवै पक्षलाई फायदा पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सल्लाहकार निर्मला शर्माले पहिलाको तुलनामा अहिले महिलाका मुद्धा सञ्चार माध्यमले उचित स्थान दिन थालेको बताउनुभयो । शिक्षा, स्वास्थ्य राजनीतिमा महिलाको अवस्था सुधार हुँदै गएको भन्दै अव ५० प्रतिशतका लागि सवै एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले छलफलमा उठेका सवालमा केन्द्रित हुँदै पछिल्लो समय महिलाका मुद्धामा गरिएका उठान हेर्दा खासै निरास भईहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो । कार्यक्रममा सहभागिले उठाइएका मुद्धालाइ थप प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगदेखि समाचारमा समेटिनु पर्ने बिषय र पठाउने माध्यमका बारेमा सुझाब दिएका थिए ।