१ मंसिर २०८१, शनिबार 1731782591
Banner

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङ– दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए। बिहान करिब १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले बिक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो ।