काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार आह्वान गरिएको छ । पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उहाँले बताउनुभयो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरुलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ । निर्वाचनका माध्यमबाट पार्टीका १८ पदाधिकारी छनोट गरिएकामा पोलिटब्युरो सदस्य छनोटका लागि मतगणना जारी छ । परिणाम भोलिसम्म बिहान सार्वजनिक गरिने जनाइएको छ ।