“बंगालको खाडीबाट मनसुन आए झैं नेपालमा बंगलादेशबाट राजनीतिक प्रवृत्ति आउनेवाला छैन्।”
गतहप्ता अर्थात अगष्ट ५ मा १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी शेख हसिना एकाएक प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको नयाँ दिल्लीमा राजनीतिक शरण लिन आईपुगेकी छिन्। हसिनाले के कति कारणले सत्ता र देश पनि छोड्न बाध्य भइन, रूपमा जे देखियो र भनिदैंछ, सार ठ्याक्कै त्यस्तो नहुन सक्छ। त्यसैले अहिले नै यसै हो भनेर ठोकुवा गर्नु हतार हुनेछ। तर नेपालका अति दक्षिणपन्थीहरू भने बंगालादेशको राजनीतिक घट्नाबाट उत्साहित भएका छन्।
“अराजक र स्वछन्द भएर जागेका जनता अथवा असंगठित विद्रोहबाट राजनैतिक तथा संवैधानिक व्यवस्थामा गुणात्मक सुधार गरेर देशको अवस्था सुधार होइन,राजनीतिक प्रतिगमन र राजनीतिमा अतिवादको सधैं खतरा हुन्छ। राजनीतिक रूपमा साक्षर जनताले अराजकता र स्वछन्दता रोज्दैनन्, हत्याहिंसा र ध्वंसमा आफ्नो र देशको प्रगति देख्दैनन्। तर बंगलादेशमा भएको विद्रोहमा जे देखियो, त्यसले भोलिका दिनमा बंगलादेशको अवस्था हिजोको भन्दा खराब हुनसक्ने अनुमान गर्न सकिन्छ किनभने आन्दोलनकारीहरू अगष्ट ५ पछि लुटपाट, आगजनी र हत्याहिंसामा रमाएका छन्।
बंगलादेशमा तख्तापलट गराउन जनता सडकमा देखिएतापनि सारमा छिमेकी शक्तिहरूको भूमिका र लगानी भएको थिएन भन्न सकिन्न। तर कुन शक्तिले किन कसरी भुमिका खेल्यो र लगानी गर्यो अहिले नै यसै हो भन्न सकिने अवस्था छैन्। त्यसैले हामीले हतारमा निष्कर्षमा पुग्नु गल्ती हुनेछ किनभने अझै पनि बंगलादेशको राजनीतिक परिस्थिति स्पष्ट बन्न सकेको छैन्। तर आज हामीले देख्दा र सुन्दा बंगलादेशमा जनता जागेको जस्तो लाग्ला, तर अराजक र स्वछन्द भएर अतिवादमा रमाएका जनताबाट प्रतिगमनको सधैं खतरा हुन्छ।
मुहम्मद युनुसको नेतृत्वमा १७ सदस्यीय अन्तरिम सरकार बनेपछि विद्यार्थी आन्दोलनको आवरणमा बाह्य शक्तिले बंगलादेशको राजनीतिमा आफ्नो नियन्त्रणमा लिन खोजेको देखिन्छ किनभने अन्तरिम सरकारमा एनजिओकर्मीहरूको प्रभुत्व रहेको छ। अनि भारतीय सञ्चार माध्यममा आएका समाचार र विश्लेषणहरूले बंगलादेशको राजनीतिमा भारतीयहरूको प्रभाव घटेको संकेत मिल्छ भने पाकिस्तान र अमेरिकाको प्रभाव बढेको। नेपालमा भने बंगलादेशको अराजक र असंगठित विद्रोहको मोडलमा राजतन्त्र फर्काउने परिकल्पनामा राजतन्त्रवादीहरू सक्रिय हुन खोजेका छन्। तर यसरी राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने कसैले सोचेको छ भने त्यो निन्द्रामा छ किनभने बंगलादेशमा राजतन्त्र ल्याउन विद्रोह भएको होइन। तथापि विद्रोह अराजक थियो र बंगलादेशको विद्रोहले लोकतन्त्र र अग्रगमनलाई बलियो बनाउने संकेत गरेको देखिदैन्।
निष्पक्ष भएर हेर्दा विद्रोह जसरी अराजक, स्वछन्द र हिंस्रक बनेको छ, यो कुनैपनि कोणबाट बंगलादेशको हितमा देखिदैन्। यसले बंगलादेशलाई सामाजिक-आर्थिक रूपमा २० औं वर्ष पछाडि पारेको छ। तर हाम्रा केही मान्छेहरू नेपाल पनि त्यही बाटोमा जान सक्छ भन्ने अनुमान र विश्लेषण गरेर रमाइरहेको उनीहरूको टिप्पणीमा देखिन्छ। जबकि यो उनीहरूको मूर्खता हो। भनिन्छ नि मूर्खदेखि दैव डराउनु अथवा मूर्खको ओखती छैन्। त्यसैले मूर्खहरूको भ्रमित विश्लेषणहरूबाट हामी जोगिनु पर्ने भएको छ। हिजो प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका कारणले हामी सामाजिक(आर्थिक रूपमा कति पछाडि परेका छौं, समीक्षा आवश्यक छ। हामी स्पष्ट हुनुपर्छ, अराजकता र स्वछन्दताले जन्माउने अतिवाद नै हो र ल्याउने प्रतिगमन नै हो।
तैपनि अति दक्षिणपन्थीदेखि लिएर भ्रमित भाष्यमा रमाएका अवसरवादीहरू नेपाललाई बंगलादेशको बाटोमा हिंडाउने सपना देख्दैछन्। सिंहदबार र बालुवाटारमा अराजक भींड पसेको र देशभरी तोडफोड, लुटपाट र आगजनी हुने परिकल्पनामा बोलिरहेका छन्। देशलाई खरानी बनाएर पछाडि पारेर समृद्धि खोज्दैछन्। बंगलादेशको अतिवादलाई लिएर ज्ञानेन्द्रपन्थीदेखि लिएर माझण्डपन्थी अनि बहरपन्थीहरू उत्साहित भएका छन्। उनीहरूले देशमा अतिवाद र अराजकतावादको डढेलोमा आफ्नो राजनीतिक भविष्य देखिरहेका छन्।
शेख हसिनाले केही समय अघि भनेकी थिईन्, “उनीहरू पूर्वी टिमोरलाई जस्तै बंगलादेश र म्यानमारको केही हिस्सालाई बंगालको खाडीमा एयर बेससँगै लिएर बेग्लै इसाई देश बनाउन चाहन्छन्। तर म देशको कुनै हिस्सा भाडामा दिएर वा सुम्पिएर सत्तामा आउन चाँहदिन।” हसिनाको संकेत पश्चिमतिर थियो। जस्ले उनलाई सत्ताच्युत गरेर देश छोड्न बाध्य बनाएको हुनसक्छ।
बंगलादेशको तख्तापलटपछि भारत झस्किएको उसका कूटनीतिक तथा राजनीतिक अभिव्यक्ति र गतिविधिहरूमा देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर विरोधी विपक्षीहरू पनि यतिखेर सरकार अर्थात मोदीको साथमा देखिएका छन्। यसबाट हामी अनुमान गर्न सक्छौं, शेख हसिनाको बहिर्गमनबाट भारत दक्षिण एसियामा आफ्नो प्रभाव गुमाउने चिन्तामा एकजुट हुन खोजेका छन्। तापनि विदेश मामला र राष्ट्रिय स्वार्थमा भारतमा देखिएको एकमतले त्यहाँको राजनीतिक परिपक्वता झल्काउँछ। तर हामीहरू भने एकले अर्कोलाई दोष लगाएर आफ्नो राजनीतिक स्वार्थ बलियो बनाउने कमजोर बाटो रोज्दैछौं। यसले हामीलाई अझ पछाडि धकेल्नेछ भन्ने चेत अझै हामीमा देखिएन।
यति बेला हामी सचेत नेपालीहरूले बुझ्नुपर्छ, “अल्छिपनाले महत्वकांक्षा, रिसले बुद्धि विवेक र डरले सपनाहरूलाई मार्छ भने अराजकता र स्वछन्दताले लोकतन्त्रलाई कमजोर बनाएर प्रतिगमनलाई सहयोग गर्छ।” अहिले नेपाललाई यही बाटोमा हिंडाउन ज्ञानेन्द्रपन्थी (राजतन्त्र फर्काउन), माझण्डपन्थी (एमालेको विरोध गर्न) र बहरपन्थीहरू भ्रमित भाष्यमा रमाउन अघोषित रूपमा मिलेर अतिवाद र अराजकतावादमा आफ्नो राजनीतिक भविष्य देख्दैछन्।
ज्ञानेन्द्रपन्थीको पक्षमा पत्रकार युवराज घिमिरे ‘बंगलादेशले दिएको सन्देश बुझ्न चाहलान् र हाम्रा नेताहरूलेरु’ शीर्षकमा लेख्छन्, “नेपालमा लामो संक्रमणको अस्थिरता, दलहरूको अलोकप्रिय र त्यही धोखाधडीको कूटनीतिबाट हटाइएका राजाको बढ्दो लोकप्रियताले बाहिरी जगतलाई पनि ठूलो सन्देश दिएको छ।” अनि बंगलादेशको घटनाबाट उत्साहित हुँदै प्रचण्ड भन्छन्, “बंगलादेशको आन्दोलनबाट सरकार नराम्रोसँग डराएको छ। हामीले पनि आन्दोलनको तयारी गर्नुपर्छ।” बहरहरूको कुरा गर्नै परेन, कोही मनरो डक्ट्रीन भन्दै शक्ति राष्ट्रको गुलामी गर्दैछन् भने कोही जनतालाई भ्रमित बनाउन सत्ता र सडक शक्तिको प्रयोग गरेर व्यवस्था विरोधी गतिविधिको अप्रत्यक्ष पैरवी गरिरहेका छन्।
बंगलादेशको तख्तापलट र नेपालको सन्दर्भ कुनैपनि कोणबाट मिल्दैन् किनभने त्यहाँ सत्तामा हुने र नहुनेसम्म पानी बराबरको स्थिति छ। एउटा पक्ष सत्ता हुँदा अर्को पक्षलाई दमन गरेर जेल हालिएको अवस्था छ। अहिले शेख हसिनाले सत्ता छोड्दा देशमा नै बस्न नसक्ने अवस्था बनेको छ। जबकि नेपालमा त्यस्तो स्थिति कहिल्यै बनेन। हाम्रो राजनीतिमा सहिष्णुता दक्षिण एसियाका देशहरूमा भन्दा बढी नै छ। पक्ष र विपक्षहरू विमतिका बीचमा पनि सम्मानका साथ संवादमा रहन्छन्।
यस सन्दर्भमा नेपाल खबरमा मिलन धरेल ‘बंगलादेशः सत्ता परिवर्तन र नेपाल सन्दर्भ’ शीर्षक लेखमा लेख्छन्, “बंगलादेशमा आन्दोलन सफलतामा पुग्नेबित्तिकै सामाजिक सञ्जालका विज्ञहरूले नेपालमा पनि त्यस्तै आन्दोलन हुने अराजक सन्देशहरू प्रवाह गरे। तर बंगलादेशको आन्दोलन बंगलादेशको सरोकार र विषयमा हो, त्यहाँको एक दशकभन्दा लामो पृष्ठभूमिमा जन्मिएको हो। नेपालमा यसको सिको गर्नु वा गर्न खोज्नु अराजकता मात्र हुन्छ।” यो लेखकको विचारमा “हामी कति मूर्ख छौं भने ‘कसैले बस चढेको समाचार आउँदा पुलकित हुन्छौं।’ हाम्रो यो चेतनाले न राजनीति सुध्रिन्छ न त देशको अवस्था नै बदल्न सकिन्छ। समस्या हाम्रो चेतनामा छ। जसले हाम्रो व्यवहार ठीक भइरहेको छ। त्यसैले समस्या हाम्रो चेतनामा छ। चेतना ठीक नहुँदासम्म व्यवहारमा गुणात्मक सुधार आउनेवाला छैन्। अहिले यही खराब चेतनाले नेपालमा बंगलादेशको जस्तो अराजकता खोज्दैछ।”
तन ठीक हुन मन ठीक हुनुपर्छ भने मन ठीक बनाउन जन ठीक हुनुपर्छ अनि जन ठीक बनाउन पल(पल पनि ठीक हुनैपर्छ। पल ठीक हुन सूचना र ज्ञान ठीक हुनुपर्छ। सूचना र ज्ञान ठीक हुनका लागि मन पनि ठीक हुनुपर्छ। अन्यथा भ्रमित भाष्यले अराजकता र स्वछन्दता बढाएर परिस्थिति अनियन्त्रित बनाउनेछ। तर आज केही मूर्खहरू बंगलादेशको अराजकता र स्वछन्दता अर्थात आयातित असंगठित विद्रोहमा रमाएर नेपालको राजनीतिमा सकारात्मक परिवर्तन र देशको प्रगति खोज्दैछन्। जुन नेपालमा कुनैपनि हालत संभव देखिदैन्।
अन्तमा राल्फ वाल्डो ईमर्सनको भनाइबाट हामीले सिक्नुपर्छ, “एक मात्र व्यक्ति तपाईं बन्ने भाग्यमा हुनुहुन्छ जुन व्यक्ति तपाईंले बन्ने निर्णय गर्नुहुन्छ।” त्यसैले भ्रमित भाष्यका पछाडि लाग्नु आवश्यक र दक्षिणपन्थीहरूको सलबलाहटले नेपालको राजनैतिक व्यवस्थामा कुनै असर पार्नेवाला छैन्।