४ आश्विन २०८१, शुक्रबार 1726871337
Banner

भैरहवाको सेजमा ६८ प्लटमध्ये ३० वटामा मात्रै उद्योग स्थापना

बुटवल। रुपन्देहीको भैरहवास्थित ‘विशेष आर्थिक क्षेत्र’ (सेज)मा अपेक्षा गरिएअनुसार उद्योग स्थापना हुन सकेको छैन । उदघाटन भएको करिब १० वर्ष बित्दा पनि सेजले पूर्ण क्षमतामा उद्योग पाएको छैन । २०७१ मंसिर २ गते तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले सेजको उदघाटन गरेका थिए । निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने योजनासहित सञ्चालनमा ल्याइएको सेजमा आधाजसो प्लट अझै खाली छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१, बगहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ प्लट छन् । सेजका सहायक निर्देशक एवं इन्जिनियर सुमित डुम्रेका अनुसार ३० वटा प्लटमा उद्योग स्थापना भएका छन् । बाँकी ३८ प्लटमा उद्योगीसँग सम्झौता भए पनि अझै उद्योग स्थापना भएको छैन । सेजमा एक हजार चार सयदेखि तीन हजार सात सय वर्गमिटरसम्मका प्लटमा विभिन्न उद्योगीले सम्झौता गरे पनि सेजको अवधारणा अनुसार सरकारले उद्योगमैत्री नीति र आवश्यक सुविधा नदिएका कारणले उद्योग स्थापना गर्न ढिलाइ भएको उद्योगी सुरेश पन्थले बताए ।

‘सेजको अवधारणा अनुसार भौतिक संरचना र उद्योग सञ्चालनको प्रक्रिया झन्झटिलो छ । त्यस कारणले उद्योग स्थापना गरेका साथीहरू पनि सेजबाट अन्यत्र जान खोज्दै छन् । हामीले साथीहरूको देखेर पनि ढिलाइ गरेका हौँ,’ उनले भने । सेजभित्र स्थापना भएका उद्योगको ६० प्रतिशतसम्म सामान अन्य देशमा पठाउनुपर्ने, सेजमा स्थापना भएका उद्योगलाई धितो राखेर बैंकले ऋण नदिने, जग्गाको भाडा दर पनि महँगो रहेको उद्योगीको भनाइ छ । भैरहवाका उद्योगी राजेन्द्र गुप्ताले सेजभित्र उद्योग चलाउन अन्य ठाउँमा भन्दा सहुलियत चाहिने बताए । तर सेजभित्र पानीको निकास, भन्सार सुविधा, पेट्रोल पम्पजस्ता सुविधा नहुँदा उद्योगीहरू आकर्षित नभएको उनको भनाइ छ ।

२०७१ सालमा उदघाटन भएको सेजको कार्यविधि २०७३ सालमा बन्यो । २०७६ सालमा सेजमा शक्ति मिनरलले पहिलो उत्पादन सुरु गरेको सेजका सहायक निर्देशक एवं इन्जिनियर सुमित डुम्रेले बताए । भैरहवाको सेजमा अहिले जय बुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भीस्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपति मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ  लगायत ११ उद्योग स्थापना भएका छन् । सेजमा अनुपम वेयर, गोल्ड स्टार सुज, माउन्टेन मरिङ्ग  लगायत उद्योगहरू स्थापनाका प्रक्रियामा छन् । यहाँ स्थापना भएको उद्योगमध्ये पञ्चकन्याले बाहिर निकासी गर्न नसक्दा अहिले सञ्चालनमा छैन । जय बुद्ध मेटल क्राफ्टको उत्पादन आन्तरिक कारणले रोकिएको छ ।

सेजभित्र प्लट लिएका उद्योगीहरूले पनि उद्योग स्थापना गर्न रुचि देखाएनन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेज सञ्चालन कार्यविधिको अस्पष्टता र उद्योगमैत्री पूर्वाधार नहुनु मुख्य कारण रहेको बताए । सेजभित्र उद्योग चलाएका पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान अव्यावहारिक रहेको भन्दै यसको परिमाण घटाउन पर्ने बताए । सेजका सहायक निर्देशक एवं इन्जिनियर डुम्रेले भाडा दर घटाउने, निकासी पनि कुल उत्पादनको ६० प्रतिशतबाट घटाएर ३० प्रतिशत ल्याउने प्रक्रिया भइरहे पनि ऐन बन्न ढिलाइ भएको बताए । उनले भने, ‘भाडा दर र निकासीको प्रतिशत घटाउने विषयमा कुनै दुई मत छैन तर त्यसको लागि ऐन सुधार गरेर ल्याउने तयारी गर्दैछौँ ।’