४ आश्विन २०८१, शुक्रबार 1726842317
Banner

संसद्को पुस्तकालयबारे सांसदहरू अनविज्ञ

काठमाडौँ । सांसदहरू स्वयंले संसद् सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् । शुक्रबार संघीय संसद् सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भ पारेर सिंहदरबारमा आयोजना गरेको ‘संसद् पुस्तकालय: प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, एमालेकी सांसद शान्ति चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीलगायतका सांसदहरूले संसद् सचिवालयको पुस्तकालयमा पुस्तकको व्यवस्थापन समेत राम्रोसँग नगरेको गुनासो समेत गरेका छन् ।

उपसभामुख रानाले सो पुस्तकालयमा जथाभाबी पुस्तक फालिएको अवस्थामा भेटिएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन सचेत गराइन् । उनले पुस्तकालय संसद् सचिवालयमा छ भने पछि सांसदहरूले जाने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने काममा लाग्नुपर्ने बताइन् । उपसभामुख रानाले भनिन्, ‘पुस्तकालयमा पुस्तकहरू नै राम्रोसँग राखिएको छैन । त्यत्तिकै फालिएको अवस्था छ । यस्तो नगरौँ । त्यहाँका अद्भुत चिजहरूलाई संरक्षण गरेर राखौँ ।’ एमालेकी सांसद चौधरीले आफूलाई संसद् सचिवालयमा पुस्तकालय छ भन्ने थाहा नभएको बताइन् । उनले पछिल्लो घटनाक्रमबारे अध्ययन गर्ने काम फेसबुक लगायतका सामाजिक सञ्जालबाटै हुने गरेकाले पनि पुस्तकालयबारे चासो दिन अवस्था नरहेको बताइन् ।

सांसद चौधरीले सांसदहरूको भूमिका प्रभावकारी हुने खालको सामग्रीहरू सो पुस्तकालयमा राख्नुपर्ने आवश्यकता पनि औँल्याइन् । उनले भनिन्,‘ हामी नयाँ सांसदहरू छौ । र यहाँ लाइब्रेरीको व्यवस्था गरिएको छ भन्ने कुरा स्वयं मलाई पनि थाहा थिएन ।’ राप्रपाकी सांसद रोशन कार्कीले पुस्तकालयमा आफू एक पटक पुगेको र खोजेको पुस्तक नपाएपछि फेरि दोहोर्‍याएर नगएको बताइन् ।  उनले पछिल्लो सन्दर्भ सामग्रीहरू पनि सो पुस्तकालयमा व्यवस्था गर्न संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराइन् । सांसद कार्कीले भनिन्, ‘लाइब्रेरीमा खोजिएको किताब पनि भेटिएन । पुस्तक पनि व्यवस्थित ढंगले राखेको पाइएन । राम्रो नभएपछि म फेरि फर्केर त्यो लाइब्रेरी गएको छैन ।’ सांसदहरूले सो पुस्तकालयको अध्ययन सामग्रीको लागि पूर्व सांसदहरूको अनुभव पनि उपयोगी हुने धारणा राखेका थिए ।