४ आश्विन २०८१, शुक्रबार 1726849825
Banner

३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले शुक्रबार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण बढेर २४ खर्ब पुगेकाले देशको अर्थतन्त्र अफ्ठ्यारोमा पुगेको बताए । ‘ऋणको पासोमा परेर निस्कन नसक्ने गरी फसेका त छैनौं तर सेलेक्टिभ हुन जरुरी छ’, अर्थमन्त्री पौडेलले भने, ‘रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती ठीक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।’

उद्योगहरुको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै उनले अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको मन्त्री पौडेलले बताए । अहिलेको सरकारले व्यवसायीलाई दुख नदिने र अमर्यादित व्यवहार नगर्ने तर गैर कानूनी व्यवसायलाई छुट नदिने अर्थमन्त्री पौडेलले बताए । नेपालमै बसेर उद्यम गर्ने सम्भावना धेरै रहेको भन्दै उनले यस्तो सम्भावना अरु मुलुकमा नहुने दाबी गरे । ‘विकसित मुलुकहरुमा सीमित क्षेत्रमा काम गर्न सकिन्छ, तर नेपालमा जलविद्युत, पर्यटन, कृषि र सेवा उद्योग सबै क्षेत्रमा ठूला ठूला सम्भावना छन्, युवाले देश छाड्ने गल्ती गर्न हुंदैन’, पौडेलले भने, ‘अहिलेको सरकार नीतिमा स्थिरता सहितको सबैभन्दा बलियो सरकार हो, यो भन्दा बलियो सरकार बन्न सक्दैन ।’

उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको भन्दै निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताए । ‘निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउछौं’, उनले भने । उद्योगमा लगानी भित्र्याउन मोतीपुर औद्योगिक क्षेत्र बनाउन लागिएको उपप्रधानमन्त्री पौडेलले बताए । युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष रिसव वझाले सरकारले लगानीमैत्री वातावरण बनाइदिए युवा पलायन रोकिने र उद्योगमा लगानी भित्रिने बताए ।