१० श्रावण २०८३, आइतबार 1785101093
Banner

नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द हुने

सिरहा, वैशाख १० । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् ।भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले बताउनु भयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले जानकारी दिनुभयो ।

बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गर्नुभएको थियो । बैठकमा प्रजिअ कवाडी सहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।