३१ भाद्र २०८१, सोमबार 1726536215
फिचर

प्रकाशले घरमै पाए नागरिकता, आज प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङले नागरिकता प्रमाण पत्र पाउनुभएको छ ।

भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ साम्पाङ स्थित उहाँको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्म दर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता दिनुभएको हो ।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गर्नुभयो । उहाँले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिनुभयो । मेयर उदासले प्रकाशले चाहे उहाँको क्षमता÷योग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ । प्रकाशले आज काठमाडौं आएर प्रधानमन्त्रीलाई भेट्दै हुनुहुन्छ । हेर्ने कथामा प्रकाशको कथा आएपछि यस विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।