३ आश्विन २०८१, बिहिबार 1726784360
अर्थ

सहुलियत पसल असोज पहिलो सातादेखि

काठमाडौ । सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ । 

चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ । खाद्य कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि कम्पनीले बिक्री गर्ने चामलको मूल्यमा प्रतिकेजी पाँच रुपियाँ छुट गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो छ । त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप पाँच रुपियाँ छुट दिने कम्पनीले जनाएको छ । 

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार देशभरि ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने छ । जसमध्ये उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकामा पालिकाको समन्वय र आउटलेटको सहजीकरण भएमा सहुलियत पसल थप गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

साल्ट टे«डिङ कर्पोरेसनले सहुलियत पसलमार्फत नुन, चिनी खानेतेलमा छुट गर्ने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले नुन प्रतिकेजी दुई रुपियाँ, चिनी प्रतिकेजी पाँच रुपियाँ र खाने तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिने गरी वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिनुभयो ।