४ आश्विन २०८१, शुक्रबार 1726843526
अर्थ

बुद्ध एयरले गर्‍यो १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२’ जहाज बिदाइ

काठमाडौं । निजी क्षेत्रको एक नम्बर हवाइ सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) अब नउडाउने भएको छ । बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२ नाइन एन–एआइन’ जहाज बिदाइ गरेको छ । यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो ।

एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो । नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको ‘उडान साइकल’ समाप्त भएको हो ।

नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ । नाइन एन–एआइएनले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ । माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्टसमेत रहेका थिए ।

नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।