४ आश्विन २०८१, शुक्रबार 1726813810
Banner

प्रधानसेनापतिद्वारा आर्थिक सहायता र पुरस्कार प्रदान

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले विगतको द्वन्द्वका घाइते अवकाश प्राप्त सैनिकलाई सम्मान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उहाँले एकजना घाइतेलाई चारपाङ्ग्रे स्कुटर तथा अन्य ३४ जनालाई जनही रु एक लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति सिग्देलले गत चैतमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा वीरगति प्राप्त जमदार केशव जार्गा मगर, सिपाहीद्वय हेमन्त रावत र आशिक बुढाको परिवारलाई जनही रु एक लाख ४० हजारका दरले आर्थिक सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा गिनिज वल्र्ड रेकर्डमा विभिन्न पाँच विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल प्युठ हरिचन्द्र गिरीलाई रु एक लाख ५० हजार नगद पुरस्कारसहित सम्मान गरियो ।

त्यस अवसरमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आइष्मा आचार्यलाई नगद रु ५१ हजारसहित प्रशंसापत्र प्रदान गरियो । छात्रा आचार्यले विसं २०८० को विद्यालय शिक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा र राष्ट्रियस्तरको खेलकुद (एथलेटिक्स विधा) मा विभिन्न समयमा दुई स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गर्नुभएको थियो ।