काठमाडौँ : सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकनै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाईदिनुप¥यो भन्दै आएका छन, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ”, सांसद पोख्रेलले भन्नुभयो ।
सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पु¥याउनुभएको योगदानबारे संसदमा स्मरण गर्नुभयो । सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानि रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिनुभयो । सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा सङ्घले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।