५ आश्विन २०८१, शनिबार 1726929279
अर्थ

माथिल्लो कर्णाली बनाउन जिएमआरसँग एमओयू 

काठमाडौं । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानीको समझदारी (एओयू) गरेपछि भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) को सेयर मूल्य बढेको छ । बम्बे स्टक एक्सचेन्ज (बिएसइ) मा सेयर मूल्य ७ प्रतिशत बढेर प्रतिकित्ता २ सय ३९ रुपैयाँ पुगेको छ । अघि बढ्न नसकेको स्थिर अवस्थामा रहेको माथिल्लो कर्णाली आयोजनामा विकासका लागि भारतको जिएमआर इनर्जी लिमिटेड, एसजेबिएन लिमिटेड र इरेडाबीच एमओयू भएको थियो ।

यो सम्झौताले नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकास र कार्यान्वयनमा सहजीकरण गर्ने लक्ष्य राखेको छ । यस सहकार्यले नवीकरणीय ऊर्जा पूर्वाधारको विकास गरी क्षेत्रीय ऊर्जा सुरक्षालाई अभिवृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ ।

जिएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन नसकेपछि नयाँ साझेदार भित्र्याएको हो । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । पहिला ३ सय ९ मेगावाटको भए पनि पछि क्षमता बढाएर ९ सय मेगावाट बनाइएको छ ।

आयोजना बनाउन १ खर्ब ४० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । सन् २०१४ मा जिएमआर र लगानी बोर्ड नेपालबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो । आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको छैन् । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको छ ।

सोही समयमा प्रतिस्पर्धाबाट भारत सरकार स्वामित्वको सतलज जलविद्युत निगमले बनाइरहेको ९ सय मेगावाटको अरुण तेस्रोको काम ७० प्रतिशत सकिएको छ ।

यस्तै सतलजले ६ सय ६९ मेगावाटको तल्लो अरुण आयोजना पनि बनाउन अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छ । सतलजले १ सय ९८ मेगावाट अर्थात २१.९ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि अरुण तेस्रो पाएको हो । तल्लो अरुणमा पनि सतलजले २१ प्रतिशत निःशुल्क बिजुली दिने भएको छ ।

जिएमआरले ५ सय मेगावाट बिजुली बंगलादेश निर्यात गर्न त्यहाँको पावर डेभलपमेन्ट बोर्डसँग प्रारम्भीक सम्झौता गरेको थियो । १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत निःशुलल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने पिडिएमा उल्लेख छ ।

नेपालमा आयोजना विकास गर्न जिएमआरले जिएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरेको छ । यसमा २७ प्रतिशत विना दायित्व स्वामित्व नेपाल विद्युत प्राधिकरणको छ ।