३ आश्विन २०८१, बिहिबार 1726782712
Banner

रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ

काठमाडौं । लागुऔषध बिक्री वितरण गरेको कसूरमा दिया फार्मेसीका सञ्चालक डा ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी का पूर्वसांसदसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार नियन्त्रणमा लिएको हो ।

कास्कीको पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कमा ट्रुपेन नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न पाइँदैन ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठको फार्मेसीबाट डाक्टरको प्रेस्क्रिप्सनबिनै ट्रुपेन बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको बताए । उनलाई जिल्ला अदालत कास्कीमा लागुऔषध बिक्री–वितरण तथा ओसारपसार मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । उनलाई भोलि अदालत लगेर म्याद थप गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।