३ आश्विन २०८१, बिहिबार 1726806425
Banner

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

काँक्र्रेविहार (सुर्खेत) : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।

सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।