३ आश्विन २०८१, बिहिबार 1726794272
Banner

लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ । लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोट, कैलाली, काठमाडौँ लगायतका जिल्लाबाट लागु औषधसहित १७ जना पक्राउ परेका हुन् । सोही क्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट लागुऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जना पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवि तामाङ रहेका छन् । अस्थायी प्रहरी पोस्ट सातबिसे र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले शिखर बेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ६३९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै सिराहाको औरही गाउँपालिका–१ हनुमान चोकबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय मिलिग्राम, मोबाइल ४ थान र नगद १ लाख १९हजार रुपैयाँसहित सिराहा नगरपालिका–१ बस्ने २७ वर्षीय पङ्कज यादवसमेत ३ जनालाईबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र प्रहरीचौकी हर्कट्टीबाट खटिएको प्रहरीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डरतर्फ जाँदै गरेको बिआर०६ डीसी ४९९५ नम्बरको जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक यादव समेत ३ जनालाई पक्राउ गरेको हो । उता, कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ बस्ने ४० वर्षीय रामबहादुरचौधरीसहित ५ जनालाई खैरो हेरोइन ४ ग्राम २ सय १० मिलिग्राम, मोबाइल ५ थान, डिजिटल तराजु १ थान, कैँची १ थान र नगद ७ हजार ५ सय ५० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार इलाका प्रहरी कार्यालयसडकपुरबाट खटिएको प्रहरीले रामबहादुर चौधरीको घरबाट उक्त लागु औषध फेला पारीउनीहरूलाई पक्राउ गरेको हो ।त्यस्तै काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट  ८ सय ग्राम गाँजासहित ललितपुर महानगरपालिका–१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रणब्युरोबाट खटिएको प्रहरीले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख१८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्तगाँजा फेला पारी बरामद गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कुरियरकोसामान नरेशको रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका–८ पाँगास्थित युनिक एन्ड युनिशा मिट पसलबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ९४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० फाइल, नाईट्राभेट १ फाइलसहित पसलका सञ्चालक धादिङ शिद्वलेख गाउँपालिका–३ चालिसे घर भएका ३० वर्षीय विष्णु श्रेष्ठ समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । त्यस्तै बिहीबार बेलुकी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट ५ ग्राम ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–९ बस्ने २७ वर्षीय नवीन हमाल र कैलाली धनगढी उपमहानगरपालिका– ३ बस्ने २६ वर्षीय मनोज ऐरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।