३ आश्विन २०८१, बिहिबार 1726728330
Banner

पाँचतारे लेमन ट्रि प्रिमियर होटल सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं । निजी लगानीमा राजधानीको बूढानिलकण्ठमा निर्माण भएको पाँचतारे लेमन ट्रि प्रिमियर होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लेमन ट्रि पिमिरयर होटलको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुढानिकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्री प्रिमियरको उद्घाटन गर्नुहुँदै । तस्बिर :प्रधानमन्त्रीको सचिवालय / रासस

२ अर्ब ७० करोड रुपैयाँ लगानीमा निर्माण भएको होटल भारतको ख्याति प्राप्त लेमन ट्रि ब्राण्डमा सञ्चालन भएको छ । लेमन ट्रि प्रिमियर भारतको ताजपछिको दोस्रो लोकप्रिय होटल व्यवस्थापन ब्राण्ड हो । लेमन ट्रिले व्यवस्थापन लिएको यो मुलुककै पहिलो होटल हो । पाँचतारे स्तरको होटल लेमन ट्रि प्रिमियरको ‘सफ्ट ओपनिङ’ गत माघको पहिलो साता भएको हो । होटल पूर्ण क्षमतामा सञ्चालन भइसकेको छ । होटलमा नेपाल बैंक र नेपाल एसबिआई बैंकको ऋण लगानी छ ।

काठमाडौंको कोलाहलबाट केही टाढा तर सुविधासम्पन्न होटल खोजीमा निस्कनेलाई लक्ष्य गरी होटल निर्माण गरिएको प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए । उनका अनुसार होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । नौ तला अग्लो होटलमा होटलमा १ सय २ कोठा रहेका छन् ।

होटलमा डिलक्स, एजुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, एक्जुकेटिभ रुम, प्रिमियर रुम, क्लब रुम रहेका छन् । यस्तै होटलमा बैठकका लागि पाँच रुम रहेका छन् । जसमा २५ देखि ३० जना मिटिङ गर्ने क्षमता छ । १५ जनासम्म अटाउने दुईवटा बोर्ड रुम पनि छन् । होटलमा स्पा, साउना, ज्याकुजी, स्टिम साउना, इन्फिनिटी पुल रहेको छ ।

फ्रेस्को स्पा इन्फिनिटी पूल आफैमा प्रकृतिसँग नजिकिएको एक सुन्दरता भएको होटलले जनाएको छ । सिट्रस क्याफेले भारतीय, युरोपेली, पश्चिमी र एसियाली स्वादिष्ट परिकारसहित दिनभरको विभिन्न स्वादिलो परिकार पस्किने होटलले जानकारी दिएको छ ।

यस्तै होटलको रूफटपमा रहेको रिक्रिएसनमा रहेको स्लोउन्ज मेनु बारमा ककटेल, मकटेललगायत अन्य पेय पदार्थहरू उपलब्ध रहेको जानकारी होटलले दिएको छ । चेन होटल भएकाले रिपब्लिक अफ नूडल्स जहाँ प्यानेजिएन कुजियनहरु होटलको विशेषता रहेको छ ।

होटल विशेष डिजाइन र सजावटले भरिपूर्ण छ । होटलले पाहुनाहरुलाई एक उत्कृष्ट सुविधाका साथै अनुपम सेवाहरू प्रदान गर्नेछ ।

लेमन ट्री प्रिमियर होटलको सञ्चालन बुढानिलकण्ठ हेरिटेज लिमिटेडले गरेको छ ।होटलको नेतृत्वमा ८ जना युवा उद्यमीहरुले गरेका छन् । होटलको अध्यक्ष डा. राजेन्द्र केसी, प्रवन्ध सञ्चालकमा बाबुकाजी कार्की छन् । होटलका सञ्चालकहरुमा व्यवसायीहरु अम्बिका पौडेल, हरिप्रसाद पाठक, दीपक पाण्डे, डा. नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, जनक भट्ट र जलेश्वर पाण्डे रहेको होटलले जनाएको छ ।

विभिन्न व्यवसायिक क्षेत्रबाट आएका अध्यक्ष, प्रवन्ध सञ्चालक र सञ्चालकहरु नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउनुका साथै ठूलो संख्यामा युवाहरुलाई रोजगारीका अवसरहरू सिर्जना गर्न एकताबद्ध भई होटल निर्माण गरेका हुन् ।

होटलमा आतिथ्य सत्कार क्षेत्रमा राज्यले लिएको लक्ष्यहरू प्राप्त गर्न, दीगो विकास र मुलुकमै रोजगारी सिर्जना गर्नका लागि लगानीकर्ताहरुको व्यापक प्रयासको एक उद्यमशिलताको प्रमाण लेमन ट्रि प्रिमियर होटल भएको प्रवन्ध सञ्चालक कार्कीको भनाई छ ।

लेमन ट्री प्रिमियर बुढानिलकण्ठको सुन्दर ढंगले निर्मित कोठा र सुइटहरुले पाहुनाहरुलाई थप आकर्षण प्रदान गर्दछ । जहाँ प्रत्येक ठाउँले उपत्यकाको सुन्दर दृश्यका साथै शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली दृष्य, स्मार्ट डिजाइनहरू आकर्षक ढंगले तयार पारिएको सजावटसहितको फराकिलो लवी समावेश छ । होटल शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक भएकाले हाइकिङ जान सहज हुने छ । यस्तै हिन्दुहरुको पवित्रस्थल बूढानिलकण्ठको मन्दिर पनि छ ।

होटमा ट्यान्जरियन ग्रान्ड र ट्यान्जेरिङ गरी दुई बैंक्वेट रहेका छन् । ट्यान्जरियन ग्रान्ड ४ हजार ५ सय स्क्वायर फिटको रहेको छ । त्यस्तै ट्यान्जेरिङको २ हजार ९ सय फिट छ । ट्यान्जरिन ग्रान्डमा ३ सय को कन्फरेन्स र ५ सय जनासम्मको कार्यक्रम अट्ने क्षमता रहेको छ । ट्यान्जरिङमा ६० जना अट्ने क्षमता भएको कन्फरेन्स हल र १ सय २० क्षमताको हल रहेको छ । होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन रहेको छ ।

सो अवसरमा प्रधामन्त्री ओलीले राजधानी भन्दा केही टाढा दुरीमा रहेका होटल भएकाले गुणस्तरिय पर्यटक भित्र्याउनु पर्नेमा जोड दिए । सरकारले होटल व्यवसायका लागि आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै होटलका अध्यक्ष डा. केसीले बुढानिलकण्ठको मूल्य बढाउन होटलले महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले मध्यमवर्गिय व्यवसायीको लगानी भएको र पब्लिक लिमिटेड कम्पनीले भएकाले जनता र राष्ट्रको सम्पत्ति भएको बताए । उनले लेमन ट्रि प्रिमियर पर्यटकको गन्तव्य बन्न सक्ने जानकारी दिए ।

भारतको दोस्रो लोकप्रिय ब्राण्ड

लेमन ट्रि होटल्स लिमिटेड भारतको सबैभन्दा ठूलो होटेल चेनहरू मध्ये एक हो । यसले अपर स्केल, अपर मिड स्केल र इकोनोमी खण्डहरूमा होटलहरूको स्वामित्व र लिज, सञ्चालन र फ्रेन्चाइजीहरू सम्बन्धित कम गर्छ । समूहले सबै तहमा पाहुनाको आवश्यकता पूरा गर्न सात ब्रान्डहरू प्रदान गर्दछ ।

जस्तै औरिका होटल्स एण्ड रिसोट, लेमन ट्रि प्रिमियर, लेमन ट्रि होटल्स, लेमन ट्रि होटल्सद्वारा रेड फक्स होटल्स, लेमन ट्री होटलसद्वारा किजा प्राइमा, लेमन ट्रि होटल्सद्वारा किज सिलेक्ट र लेमन ट्रि होटल्सद्वारा किज लाइट जहाँ प्रत्येक ब्रान्डलाई आर्कषक ढंगले डिजाइन गरिएको छ । अतिथिको आवश्यकता, विलासी भोगबाट आर्थिक आकर्षणसम्म जहाँ हरेक पल एक उत्कृष्ट अनुभव हो ।

१ सय भन्दा बढी होटल र १० हजार कोठा भएको लेमन ट्रि होटल्स एण्ड रिसोटले समावेशीकरण र विविधतालाई प्रवद्र्धन गर्दै स्वास्थ्यकर अनुभव सिर्जना गरी आनन्द र अविस्मरणीय अनुभवहरू ल्याई फरक पार्दै आएको छ ।