१६ जेष्ठ २०८३, शनिबार 1780154304
Banner

‘हिंसा’ शब्दले विवाद बढेपछि सभामुखले बोलाए बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकलाई बैठकका लागि बोलाउनुभएको छ ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी सभामुखले बोलाउनुभएको बैठकमा नेकपा एमालेका सांसदे योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गर्नुभएको नियमापत्तिमा सभामुखले गर्नुभएको निर्णय र निर्णयमा असहमति जनाउँदै संसद् अवरोध गरिएको विषयमा छलफल हुनेछ ।

भदौं २५ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिनुभएको थियो । अन्यथा संसद्मा विषय उठाउने भन्नुभएको थियो । सभामुखले कतिपय विषयहरू राजनीतिक प्रकृतिका हुने भएकाले समय लिएरै निर्णय गरौँ भन्दा पनि रोकिने अवस्था रहेन । भदौं २६ गते बिहान पनि प्रमुख सचेतक पाण्डेले निर्णय सुनाउन भनेपछि अन्तिम अवस्थामा सभामुख घिमिरे निर्णय सुनाउने अवस्थामा पुग्नुभएको थियो ।

सभामुखले निर्णय लिन प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेर्नुभएको थियो ।

नियमावलीमा ‘उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्नुहुनेछ र सो निर्णय अन्तिम हुनेछ’ भन्ने उल्लेख छ । सभामुखको निर्णय नै नमान्ने विपक्षी दलको अडानले संसद्मा अन्यौलता सिर्जना गरेको छ ।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गर्नुभएको थियो । त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना दलिल रहे । बरु सभामुखले सुझाव नै लिनु नपर्ने विषयमा किन सुझाव लिनुभएको, सभामुखीय अधिकार प्रयोग गर्न कतिपय माननीयको सुझाव थियो ।