३ आश्विन २०८१, बिहिबार 1726802377
Banner

निजामती सेवा ऐन संशोधन विधेयक समितिमा पठाइयो

बुटवल । लुम्बिनी प्रदेश सभा बैठकले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागी विषयगत समितिमा पठाएको छ । आइतबारको प्रदेश सभा बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव सर्व सहमतिले स्वीकृत गरेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे ।

२०८० असार २२ गते प्रदेश सभामा पेस भएको विधेयक भदौ २२ गते पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मङ्सिर २१ गते प्रमाणीकरण गरेका थिए । अघिल्लो बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारमा कर्मचारीको स्वीकृत दरबन्दी चार हजार ७८, प्रदेश सरकारले स्वीकृत गरेको अस्थायी दरबन्दी एक हजार दुई सय १६ रहेको जानकारी दिए । प्रदेशमा कर्मचारीको पदपूर्ति ५४ प्रतिशत रहेको, हाल प्रदेश लोकसेवा आयोगले नवौँ तहको कर्मचारी भर्नाको विज्ञापन गरेर एक सय ३२ कर्मचारी पदपूर्ति गर्न थालेको, प्रदेश लोकसेवा आयोगले अन्य पदहरूमा पनि विज्ञापन गरेर जनशक्तिको व्यवस्थापन गर्ने जानकारी दिए ।