३ आश्विन २०८१, बिहिबार 1726782280
Banner

माओवादीको अडानले संसद प्रभावित, बैठक भोलि १ बजेलाई सर्‍यो

काठमाडौं : आज आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज पनि सदन अवरुद्ध पार्ने अडान नछाडेपछि १ बजेका लागि बोलाइएको बैठक सभा ३ का लागि सारिएको थियो।

माओवादीसँग वार्ता निष्कर्षमा नपुगेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। 

यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी केन्द्र सरकारसँग क्रूद्ध बनी सदन अवरोध गर्दै आएको हो।