३ आश्विन २०८१, बिहिबार 1726777449
Banner

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल असोज ४ गते अमेरिका जाने भएका हुन् ।

प्रधानमन्त्री ओली असोज ८ गते अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् । असोज ९ गते उनी अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रीभोजमा पनि सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार १० असोजमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राण देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहनेछन् ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।