७ आश्विन २०८१, सोमबार 1727107411
Banner

जापान भ्रमणमा रहेका श्रममन्त्री भेटघाटमा व्यस्त

काठमाडौँ । जापान भ्रमणमा रहेका श्रम रोजगार, तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उच्चस्तरीय भेटघाट गरेका छन्। नेपाल जापान रोजगार सम्मेलनमा सहभागी हुन जापान पुगेका मन्त्री भण्डारीले जापानका मन्त्रालयका मन्त्रीहरूसँग भेट गरेका छन्। जापानका समकक्षी स्वास्थ, श्रम तथा कल्याणमन्त्री टाकेमी केईजुसँग समेत द्विपक्षीय भेट गरेका छन्। भेटको क्रममा नेपाल र जापान सरकारबिच सन् २०१९ मा भएको एमओयू कार्यान्वयनका लागि संयुक्त कमिटीको बैठक बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए। नेपालबाट जापानमा नेपाली श्रमिक पठाउन एसएसडब्लुको कार्यविधि स्विकृत भई कार्यान्वयनमा गएको मन्त्री भण्डारीले बताएका थिए। ईजाजतपत्रवाला संस्थाहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भए पश्चात नेपाली दूतावास टोकियोले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया सुरु हुने मन्त्री भण्डारीले समकक्षीलाई जानकारी गराएका थिए।

त्यस्तै जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन संसदीय उपमन्त्री इसिबासी रिन्टारोसँग भेट गरेका छन्। नेपाली दूतावास टोकियोमा भएको द्विपक्षीय भेटका क्रममा मन्त्री भण्डारीले जापानको श्रम बजारको अवस्थाको वारेमा जानकारी लिएका थिए । नेपाली श्रमिकहरुलाई जापानी श्रम बजारका सम्भावित क्षेत्रहरु पहिचान गर्ने र सरल तथा सहज तरिकाबाट नेपाली श्रमिकहरुलाई जापानमा अवसर खोज्ने विषयमा छलफल भएको थियो। उपमन्त्री रिन्टारोले नेपाली श्रमिकहरु मेहेनती र इमान्दार भएको बताउदै प्रशंसा गरेका थिए। उनले निर्माण क्षेत्र, सीप विल्डिङ, अटोमोबाइल तथा मेन्टेन्टेन्स क्षेत्रमा नेपालबाट कामदार ल्याउन सकिने बताउँदै त्यसका लागि आफुले सकारात्मक भुमिका खेल्ने  बताएका थिए ।

न्यायमन्त्री र्युजी कोईजुमिसँग समेत भेट गरेका छन्। मन्त्री भण्डारीलाई मन्त्रालयमा स्वागत गर्दै न्यायमन्त्री कोइजुमीले नेपाल र जापानको द्विपक्षीय सम्वन्धलाई यस किसिमको भ्रमणले थप मजवुत बनाउने विश्वास व्यक्त गरे।  भेटमा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई परेको भिसा सम्वन्धी समस्यामा सहजीकरण गरिदिन र जापानी भाषा परीक्षा केन्द्रहरु बढाउन अनुरोध गरेका थिए। मन्त्री कोईजुमीले यस विषयलाई सम्वोधन गर्न आफूले काम गर्ने प्रतिवद्ता जनाए। भेटमा जापानका लागि नेपाली राजदुत  डा। दुर्गा बहादुर सुवेदी र प्रतिनिधि मण्डलका सदस्यहरुको सहभागीता रहेको थियो।