२ मंसिर २०८१, आइतबार 1731886405
Banner

दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।  प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् ।

दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए । सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन् । त्यसपछि प्रसार्इंले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’ आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले ब्युरोमा जाहेरी दिएकी हुन् । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।