३० आश्विन २०८१, बुधबार 1729089493
Banner

थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । mसाथै यस कार्यले दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप बलियो बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो । थाई एयर एसियाले नेपालमा सिधा उडान शुभारम्भ गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले काठमाडौँ र बैङ्कक सहरलाई जोडेर सांस्कृतिक आदानप्रदान र दुवै देशको आर्थिक समृद्धि र विशेषगरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताए । उनले भने, “बैङ्कक र काठमाडौँको हवाई सम्पर्क सञ्जालले दुई देशबीचका संस्कृति आदानप्रदान र जनस्तरको सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्नेछ । यसले सरकार–सरकार तथा नागरिक र व्यावसायिकस्तरको सम्बन्धलाई समेत थप सुदृढ बनाउने छ । थाई एयर एसियाले काठमाडौँका अतिरिक्त भैरहवा विमानस्थलमा पनि छिट्टै उडान गर्ने विश्वास लिएको छु ।”

पर्यटनमन्त्री पाण्डेले छोटो समयमा ६० विमानमार्फत थाई एयर एसियाले महत्त्वपूर्ण फड्को मारेको र यसको अनुभव नेपालको हवाई उड्डयन तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रेरणादायी हुने उल्लेख गरे । “नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसाबले सम्बन्ध जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् भने नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् । यसलाई थप बलियो बनाउन जोड दिनुपर्छ”, पर्यटनमन्त्री पाण्डेको भनाइ थियो । कार्यक्रममा थाइ एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले नेपाल र थाइल्याण्डबीचको हवाई सम्पर्क सञ्जाल मात्रै नभइ दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यात्रुको सहुलियतका लागि प्रवर्द्धनात्मक भाडादरमा विभिन्न योजना बनाइएको जानकारी दिए । सिइओ क्लोङचैयाले नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सेवा विस्तार गर्ने योजना रहेको र त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।

थाई एयर एसियाको नियमित उडान सुरु

थाई एयर एसियाले आजबाट नेपालमा नियमित उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज दिउँसो ३ः०० बजे काठमाडौँमा सो एयरको विमान यहाँ अवतरण गरेको थियो । उक्त विमान काठमाडौँबाट यात्रु लिएर बुधबार साँझै बैङ्कक फर्किएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थाई एयर एसियाले नियमित उडान सुरु गरेको बताए । उनका अनुसार एयरले काठमाडौँमा सातामा चार उडान भर्नेछ । यसअघि नेपालका तीनसहित २९ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भरिरहेकामा थाई एयर एसिया थपिपछि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या ३० पुगेको छ ।

थाई एयर एयसियाले काठमाडौँमा चार र अर्को चार वटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त वायुसेवाले मलेसियाको क्वालालम्पुरबाट काठमाडौँमा छ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा गएपछि पाँच वर्षदेखि नेपालमा उडान बन्द भएको थियो । सो एयरका नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल एण्ड टुर्स रहेको छ । कम्पनीले बैङ्ककबाट भारत, हङ्कङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया, लावस, श्रीलङ्कालगायत एसियाली मुलुकमा उडान गर्दै आएको जनाएको छ ।