२ कार्तिक २०८१, शुक्रबार 1729232219
Banner

मकवानपुरबाट ८ किलो सुन सहित दुई पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा शनिवार बिहान पूर्व पश्चिम सडक खण्ड अन्तर्गत पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरूमा  स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहका छन् ।

सुन सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरिले जनाएको छ ।