८ कार्तिक २०८१, बिहिबार 1729779088
समाचार

इजरायलले गरेको आक्रमणमा दक्षिणी लेबनानमा १९ जनाको मृत्यु

बेरुत । इजरायलले दक्षिण लेबनानको तेफाहतामा मंगलबार एउटा तीन तले घरमा गरेकोआक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको छ । मर्नेमा ६ जना महिला र पाँच बालबालिकासमेत रहेको स्थानीय अधिकारीले बताएका छन् । साउद हमाउदले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेमा विद्यालयमा पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता पनि परेको बताइएको छ ।मृत्यु हुनेमा एजेदिनकी श्रीमती, बहिनी, छोरीहरू, बुहारी, ज्वाइँ र नाति नातिना समेत छन् ।

आक्रमणमा परेर उक्त घर नजिकैबाट हिँडिरहेका गाउँका इमाम शेख अब्दो आबो रायाको पनि मृत्यु भएको छ । यस घटनाबारे इजरायली सेनाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । तर सेनाले बारम्बार सर्वसाधारणलाई सकेसम्म कम क्षति पुर्‍याउने उपायहरू अपनाउने चाहिँ भनिरहेको छ । गएको चार हप्तायता इजरायली सेनाले लेबनानमा हजारौँ हवाई हमला गरिसकेको छ । आफ्ना सबै आक्रमण त्यहाँ रहेको इरानसमर्थित सशस्त्र समूह हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारलाई लक्षित भएको सेनाको भनाई छ ।