८ कार्तिक २०८१, बिहिबार 1729790031
Banner

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराएको थियो ।

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुनस् म्याद थपको अनुमति लिनु पर्दछ ।