३ आश्विन २०८१, बिहिबार 1726764211
Banner

स्थानीय निर्वाचन एमाले भर्सेस पाँचदलीय सत्ता गठबन्धन

स्थानीय तहको निर्वाचन नेपालीहरूको घरदैलोमा आइपुगेको छ । जनताको सबभन्दा नजिकको सरकारको छनोट नेपाली जनताले कसरी गर्छन् भन्ने चासो एकातिर छ भने अर्कातिर यो निर्वाचन एमाले भर्सेस पाँचदलीय सत्ता गठबन्धन हुने पक्कापक्की देखिंदा एमाले र नेपाली काङ्‌ग्रेसलगायतका गठबन्धन दलको कसको पल्ला भारी हुन्छ भन्ने आम प्रतिक्षा छ ।

पञ्चतन्त्रमा एउटा कथा छ । ध्यानमा बसेका ऋषिलाई मुसाले आफूलाई विरालोले बहुत दुःख दिएको गुनासो गर्‍यो । ऋषिले दया गरेर त्यो मुसोलाई विरालो बनाए । केही दिनमा त्यो विरालोले फेरि ऋषिलाई भन्यो–मलाई गल्लीका भुस्याहा कुकुरले अचाक्ली लखेट्यो । फेरि ऋषिले त्यस प्राणीलाई कुकुर बन्ने वरदान दिए । त्यो कुकुर जङ्गलका विभिन्न सानातिना प्राणीलाई भुक्दै लखेट्न थाल्यो । ऋषिको तपस्यास्थल वरपर जङ्‍लमा विचरण गर्न थाल्यो । एकदिन शिकारी सिंहबाट बल्लबल्ल बँचेर ऋषिको कुटीमा आइपुग्यो । ऋषिको पाउ पर्दै कुकुरले पुनः अनुनय–विनय गर्‍यो–आज मलाई जङ्गलको सिंहले झण्डै सिध्याएथ्यो । ऊसंग लड्न मलाई हजुरले सिंह बनाइ दिनुपर्‍यो । ऋषिले तथास्तु भनिदिए । अब ऋषिको अगाडि एक अजङ्गको सिंह खडा भयो । त्यो सिंहले ऋषिलाई नै खान सुरसार गरेको देखेपछि ऋषिले हतार–हतार कमण्डलुको पानी छर्कँदै भने– पुनर्मूषिको भव । सिंह निमेषमै मुसोमा परिणत भयो र कुनातिर लस्कियो ।

नेपालको वर्तमान सत्ता गठबन्धन उत्थान र पतन यही मुसाको कथासंग मिल्दोजुल्दो छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा गरेका युगीन महत्वका काम देखेर कमजोर प्रतिपक्ष नेपाली काङ्‌ग्रेस अवाक् थियो । राम्रा कामको विरोध गर्न सक्ने अवस्थामा थिएन । विकास निर्माणले अद्वितीय गति लिएको थियो । तीनै तहका सरकारले समन्वयमा काम गर्ने वातावरण बनाइएको थियो । राज्यका विभिन्न क्षेत्रमा सुशासनको प्रत्याभूति हुन थालेको थियो । छोटो अवधिमा देशको विदेश नीतिमा कायापलट भयो । अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको शीर ठाडो पार्न सक्ने अवस्था बन्यो । कोभिडको महामारीविरूद्ध प्रभावकारी काम सञ्चालन भयो । जनताको जीवन सुरक्षा गर्न ओली सरकारले कुनै कसर बाँकी राखेन । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले कोभिड नियन्त्रणमा ठूलो भूमिका खेले ।

छिमेकी भारतको दवाब र प्रभावमा परिरहने नेपालका सरकारहरूको परम्परा तोड्दै ओलीले जब जवर्जस्ती भारतीय नक्सामा पारिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन समेटेर नेपालको राजनीतिक नक्सा प्रचलनमा ल्याइयो, तब देशीविदेशी प्रतिक्रियावादी शक्तिको होसहवास गुम्न थाल्यो । नेपाललाई सबल र समुन्नत राष्ट्र बनाउने ओलीको योजनामाथि खुलेआम धाबा बोल्न थालियो ।

ओलीले गरेका युगीन महत्वका सुधार परिवर्तनलाई आत्मासात गर्न नसकेका तत्कालीन नेकपाका दुई नेता प्रचण्ड र माधवलाई हुँडलेर ओलीलाई सरकार र पार्टी दुबैतिर घेराबन्दी गराउन थाले । नेकपाबाट भागेको प्रचण्ड समूह र एमालेबाट चोइटिएको माधव समूहले ओलीलाई आरोप लगाउने केही नभएर ओली प्रतिगमनकारीु भन्न थाले । नेपाली काङ्‌ग्रेससंग मिलेर देशका विभिन्न सहरमा नारा, जुलुस र सभाहरू गर्न थाले । उनीहरूले छरेको भ्रमका कारण केही जनताले पनि साथ दिए ।

इतिहासकै लोकपृय ओली सरकारविरूद्ध अघिल्लो निर्वाचनले‘मुसो’ बनाइदिएको शक्ति नेपाली काङ्‌ग्रेस र एकीकृत भइसकेको बाम आन्दोलनबाट भागेका प्रचण्ड र माधव मिलेर बनेको गठबन्धनले आफूलाई सोझै सत्तामा पर्‍याउनु पर्ने परमादेशको माग गर्दै सर्वोच्च अदालत पुग्यो । सर्वोच्च आदालतले उनीहरूकै मागबमोजिम इतिहासकै सबभन्दा बदनाम र विवादित परमादेश जारी गर्‍यो ।

परमादेशको माध्यमबाट जब गठबन्धन सत्तामा पुग्यो, ऋषिको तथास्तुबाट मुसोबाट सिंह बनेपछि आफूलाई सिंह बनाउने ऋषिलाई नै झम्टेझैं गठबन्धन सरकारले सबभन्दा पहिले सर्वोच्च अदालतमाथि नै आक्रमण गर्‍यो । आफूलाई सत्तामा पुर्‍याउन सडकबाट सहयोग गर्ने जनतालाई महँगीको उपहार टक्र्यायो ।

स्थानीय जनप्रतिनिधिहरू समयमा छान्न पाउनु पर्ने जनताको संविधानप्रदत्त अधिकारबाट बञ्चित गर्न, स्थानीय निर्वाचन सार्न र देशलाई संवैधानिक शून्यतातर्फ लग्न ठूल्ठूला षणयन्त्र सत्ताधारी गठबन्धनबाट भए । देशभर एमालेको पक्षमा उर्लिएको जनलहर देखेर अत्तालिएका गठबन्धन दलहरू अहिलेसम्म पनि अदालत र निर्वाचन आयोगसंगको सेटिङमा एमालेलाई धेराबन्दी गर्ने काम गरिरहेको छ । स्थानीय तहको निर्वाचनमा देशव्यापी तालमेल गरेर जनताको आस्थाको साटफेर गर्दैछन् । भोटलाई बजारमा सामान साटेजस्तो साटासाट गर्दैछन् ।

यसैबीच कच्चा अर्थमन्त्रीको कारण डावाडोल बन्दै गएको नेपाली अर्थतन्त्र बचाउन लाग्नु पर्नेमा वर्तमान अर्थमन्त्री बर्खास्त गरेर काविल अर्थमन्त्री ल्याउनु पर्नेमा गठबन्धन सरकारले नेपाल राष्ट्र ब्याङ्कको स्वायत्ततामाथि झम्टने काम गर्‍यो । निष्ठावान गवर्नर महाप्रसाद अधिकारीलाई लखेट्ने दुस्साहस गर्‍यो । विदेशी मुद्राको अपचलनमा स्वयम् अर्थमन्त्री नै संलग्न भएका समाचार बाहिरिए ।

दशकौंको तुमुलकारी आन्दोलनले नेपाली जनतालाई सार्वभौम बनाएको छ । देशको मालिक बनाएको छ । नेपाली जनताले आफ्नो संबैधानिक कमण्डलुको पानी छर्केर कुनै ‘मुसो’ लाई ‘सिंह’ बनाउन सक्दछन् र फाइँफुइँ गर्ने ‘सिंह’लाई तत्काल ‘मुसो’ बनाउन सक्दछन् । र, आसन्न स्थानीय तहको निर्वाचनमा चौतर्फी झम्टने सत्ता गठबन्धनरूपी ‘सिंहलाई नेपाली जनताले आफ्नो मताधिकारको ‘पानी’ छम्केर भन्नैपर्ने भएको छ–पुनर्मूषिको भव ।

जनता नै अन्तिम र निर्णायक शक्ति भएकाले जनताको छनोट देश र समाजलाई सकारात्मक परिवर्तन गर्न सक्ने पार्टी र त्यसका उम्मेद्वारलाई नै हुने हो । त्यसकारण सचेत नेपाली मतदाता आमरूपमा एमालेको पक्षमा देखिए छन् ।