९ कार्तिक २०८१, शुक्रबार 1729865188
समाचार

अर्थतन्त्र सुधारका लागि के गर्ने ? नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव माग गरेको छ । सरकारले असोज २१ गते गठन गरेको सो आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरु दिनेछ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरुबाट सुझाव माग गरेको हो ।

आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् । इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरुले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्नेगरी सुझाव पठाउन सक्नेछन् । त्यस्तै इमेल ठेगाना एचएलईआरएसी एटएमओएफ डट् जीओभी डट् एनपीमा पठाउन सकिनेछ । विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक÷उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सुझावहरु आयोगले सरकारलाई बुझाउने छ ।