९ कार्तिक २०८१, शुक्रबार 1729886918
Banner

रामजानकी विवाह महोत्सव आयोजना गर्न समिति गठन

जनकपुर : मधेश प्रदेश सरकारले आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना गरिने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकोे हो । उक्त समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट आउने जन्ती र मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि बास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका सूची सरकारलाई बुझाउनुपर्ने गरी समिति गठन गरिएको बताइएको छ । गठित सो समितिमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवाल, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ सदस्य रहनुभएको छ ।

त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइँदै आएको छ । रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी कार्यक्रम गर्ने गरिन्छ । नगर दर्शनबाट सुरु हुने विवाह महोत्सवका क्रममा फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा आदि गरिन्छ । महोत्सवमा सहभागी हुन देश विदेशका लाखौँ श्रद्धालु भक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन् । प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार पार्ने जनाइएको छ ।