९ कार्तिक २०८१, शुक्रबार 1729886265
समाचार

कार्तिक ११-१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ-२०२४ हुँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारण सभा यही कार्तिक ११ र १२ गते काठमाडौंमा हुने भएको छ । एनआरएनएले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाई थियो ।

अध्यक्ष केसीले भने, ‘विधिवत रुपमा संस्थामा केही समस्याहरु छन् भने त्यसमा छलफल गर्ने ठाउँ नै साधारण सभा हो । त्यसकारण पनि यो संस्थामा भएका साथीहरु असन्तुष्ट साथीहरुको लागि पनि, उहाँहरुको के विषयमा असन्तुष्टि हो, विधानको कुन धारामा उहाँहरुको असन्तुष्टि हो, निर्वाचन प्रणालीमा कहाँ असन्तुष्टि हो ? यी सबै विषयमा हामी छलफल गरेर सहमतीमा आउँछौं भन्ने विश्वास लिएका छौँ । त्यसकारण हामीले यसलाई एकताको साधारण सभा पनि भनेका छौं ।’

सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एनआरएनएले जनाएको छ । साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।