१० कार्तिक २०८१, शनिबार 1729973550
Banner

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुवै मोर्चाबाट प्रतिवाद : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् ।  माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिए । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन सरकारलाई आग्रह गरे । ‘नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ।’

यो देश कांग्रेस एमालेको बिर्ता नभएको उल्लेख गर्दै उहाँले सङ्ख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने– ‘संसद्को रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाइ भएको बेलामा संसद् भङ्ग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैसाखी टेकेर दुई तिहाइको घमन्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।

अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बाल मन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताए । उनले सरकारले बाढी पहिरोको क्रममा चरम लापरबाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापरबाही नगरोस् भनेर खबरदारी गरे । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशङ्का सरकार आफैले पुष्टि गरेको बताए ।

आफूहरूले खबरदारी सभा राख्ने बित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने– ‘हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए । भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिए । अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए ।

‘माओवादीले थालेको सुशासनको रेकर्ड कसैले मेटाउन सक्ने छैन’

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताए । अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठुलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एक पटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरे । उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’