काठमाडौं : झापामा एक जना युवकमाथि छुरा प्रहार भएको छ। सोमबार दमक नगरपालिका-६ नमुना मार्गमा २७ वर्षीय सोनु अहमतमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। उनीमाथि धरान उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय एजात अहमतले छुरा प्रहार गरेको आरोप छ। डिएसपी चन्दका अनुसार लेनदेनको विषयलाई लिएर वादविवाद हुँदा पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए।
घाइते भएका सोनुको उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो। त्यहाँबाट बिएन्डसी अस्पताल बिर्तामोड पुर्याएर धरान घोपा पठाइएको थियो। छुरा प्रहारपछि एजात प्रदेश न.१-०२-०४५ प ६३१९ नम्बरको स्कुटर लिएर भागेका थिए। तर उनी दमक-६ गणतन्त्र चोकमा पुगेपछि अनियन्त्रित भएर दुर्घटनामा परेका थिए। उनको बायाँ खुट्टामा चोट लागेको र निम्स अस्पतालमा उपचाररत छन्। उनलाई प्रहरीले निगरानीमा राखेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।