९ मंसिर २०८१, आइतबार 1732472727
Banner

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । नगर सभापति कृष्णमान डंगोलले एक हप्ता अघिनै नाम सिफारिस गरिएको जानकारी दिए । हाल प्रदेश निर्वाचन क्षेत्र हुँदै सिफारिस नाम क्षेत्रीय समितिमा पुगेको छ । ‘क्षेत्रले जिल्लामा पठाएपछि नाम वाग्मती प्रदेश समितिमा पुग्छ। त्यहाँबाट टिकट फाइनल हुन्छ‚’ उनले भने । सभापति डंगोलका अनुसार सहमति गरेर एक जनाको नाम पठाउने प्रयास गरिएपनि सफल हुन सकेन । त्यसैले सबै आकांक्षीको नाम लेखेर पठाइएको हो । नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ ।

चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् । यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको उनले जानकारी दिए । ‘हामी मध्ये जसले टिकट पाएपनि सबैले सहयोग गर्ने सहमति सहित सिफारिस गरिएको हो‚’ नगर सभापति डंगोलले थपे । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । गएको स्थानीय तह निर्वाचनमा उनले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मत सहित नेकपा एमाले उम्मेदवार केश रत्‍न बज्राचार्य दोस्रो र ४०९० मत सहित नेकपा(माओवादी केन्द्र)  उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।