बाँके-नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गर्नुभएको छ । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिनुभएको छ । कांग्रेसबाट उम्मेदवारी दिनुभएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । उहाँ हाल तरुण दल बाँकेको सचिव हुनुहुन्छ ।
विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुनुहुन्छ । । उहाँ उपमहानगरपालिकाको प्रवक्ता समेत हुनुहुन्थ्यो । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुनुहुन्थ्यो ।
त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित हुनुभएको थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी )केन्द्र०बाट वडाध्यक्षका लागि भिड्दै हुनुहुन्छ । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।