काठमाडौँ । वैदेशिक रोजगारमा दुबई पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका-४ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई पक्राउ गरेको हो ।
गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको छ ।
गुरुङमाथि परेको उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।