काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो । सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होम्मिए । उक्त उपसमूहको सूचक ४.२६ प्रतिशतले बढेको छ ।