काठमाडौं । पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ । एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपनि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ । मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई र २६ टी२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २७३ रन बनाउनुका साथै १२ विकेट लिएका छन् ।
मक्सुदले पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर कलन्दर्स र पेसार जाल्मी गरी चार टोलीबाट खेलिसकेका छन् । उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२१ अगष्टमा वेष्ट इन्डिज विरुद्ध अन्तिम टी२०आई खेलेका थिए । मक्सुद सन् २०२१ को टी२० विश्वकपका लागि पाकिस्तानी टिममा समावेश थिए तर चोटका कारण उनी टिमबाट बाहिरिएका थिए । राष्ट्रिय टिमका विकेटकिपर ब्याटर बसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् । क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।