६ मंसिर २०८१, बिहिबार 1732202104
Banner

संविधानलाई अक्षरशः पालना गरेर कानुन बनाउनुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानुन बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन् । नेता कोइरालाले संविधानको पालना गरेर कानुन बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानुन बन्ने गरेको बताए । उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानुनहरू बनाउनु उचित हुने बताए । उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गरे ।

उनले भने, ‘हामी कानुन बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ । यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ । सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ ।’ नेता कोइरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानुन स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताए ।