९ कार्तिक २०८३, सोमबार 1:42 pm
समाचार

ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ : उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार प्र.३-०१-०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय नृपबहादुर खड्का पनि घाइते भएका छन्। सामान्य घाइते भएका उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेहरूमा झापाको बिर्तामोड नगरपालिका-६ की ३७ वर्षीया मेनुका मगर (भुजेल), उनका १४ वर्षीय छोरा रेहान भुजेल र सात वर्षीया छोरी प्रिन्सिका भुजेल रहेका छन्।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, उदयपुरको कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर र सोही स्थानकी ६० वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन्।

कटारी नगरपालिका-५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दीक्षित दाहाल पनि दुर्घटनामा घाइते भएका छन्।

यसैगरी, कटारी नगरपालिका-११ की २१ वर्षीया निर्मला राउत, सोही स्थानकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु घाइते भएका छन्।

दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका-१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुलीको दुधौली नगरपालिका-११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल पनि घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान अघि बढाइएको छ।