६ आश्विन २०८१, आइतबार 1727001115
Banner

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान हुँदै

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । दिउँसो ३ बजे काठमाडौंबाट २६० जना यात्रु बोकेको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जनाईएको छ । नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।

परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

‘परीक्षण उडान भइसकेपछि अव अन्य मुलुकहरुले चार्टड उडान गर्न सक्नेछन् भने व्यावसायिक उडानका लागि पनि पत्र पठाउन सक्नेछन्,’ दाहालले भने ।

विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।