काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबिच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बारेको बुझाइमा केही भिन्नता रहेको बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बीआरआईबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘बीआरआईमा हामीले ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ’, ज्ञवालीको भनाइ छ । उपमहासचिव ज्ञवालीले बीआरआईबारे सत्तारुढ दल कांग्रेस र एमालेबिच बुझाइमा एकरुपता नरहेको स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने दाबी गरे । ‘अलिअलि डिफरेन्सेस छ तर प्रधानमन्त्रीको भ्रमणअघि नै हामी एउटा समझदारीमा पुग्छौँ,’ज्ञवालीको विश्वास छ ।उनले पहिला नै हस्ताक्षर गरेको बीआरआई अहिले गिजोल्न नहुनेमा जोड दिए ।