६ मंसिर २०८१, बिहिबार 1732220100
समाचार

पीजी निःशुल्क पढाउनुपर्ने स्वास्थ्यकर्मी संघर्ष समितिको माग

काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रुपमा निःशुल्क हुने मान्यता रहेको जनाएको छ । ‘रातदिन ड्युटीमा खटेर सेवा दिन चिकित्सकबाट शुल्क असुल गरिनु आफैंमा अन्यायपूर्ण हो,’ समितिका संयोजक डा. शेषराज घिमिरे भन्छन् । यसैगरी संघर्ष समिति र सरकारबीच भएको सहमति बमोजिक निजी मेडिकल कलेजमा पीजी अध्ययन आवासीय चिकित्सकलाई मेडिकल अफिसर (८औं) तहको बराबर बार्षिक १३ महिनाको निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)अन्तर्गतको एमडी, एमएस र एमडीएसका आवासकीय चिकित्सकलाई अधिंकाश निजी मेडिकल कलेजले कम तलब स्केलमा काम लगाइरहेको गुनासो आएपछि भत्ता सुनिश्चित नगर्ने कलेजलाई सिट नदिने निर्णय गर्‍यो । तर निजी मेडिकल सञ्चालकले भने पीजी अध्ययन गर्ने चिकित्सकलाई ८औं तहका चिकित्सक बराबर निर्वाह भत्ता दिन नसक्ने भन्दै यस वर्षका लागि सिट संख्या नै माग गरेनन् । उल्टै सरकारलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै अबदेखि पीजी पढाउन नसक्ने चेतावनी दिएका छन् ।

‘आवासकीय चिकित्सकलाई आठौ तहको सरकारी तलब निर्वाह भत्ता दिनुपर्छ,’ डा. घिमिरे भन्छन्, ‘राज्यको निर्णय र निर्देशन नमान्ने मेडिकल कलेजलाई दण्डित गरियोस् । ती मेडिकल कलेजको चिकित्सा शिक्षाको अन्य सिट संख्या दिने सम्बन्धनमा गम्भीर समीक्षा गरियोस् ।’ सरकारले यदि निजी मेडिकल कलेजसँग सौदाबाजीको प्रयास गरेमा संघर्ष समिति आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । चिकित्सकहरूका अनुसार एउटा डाक्टरको करिअरमा रेसिडेन्सी नै सबैभन्दा गाह्रो समय हो । एमबीबीएस पास गरेर एक वर्ष इन्टर्न गरेका डाक्टरले पोष्ट ग्राजुएट (पीजी) गर्न सक्छन् । विधा अनुसार ३ देखि ७ वर्ष अवधि हुन्छ । कन्सल्ट्यान्ट विज्ञ बनाउने समय भएकाले यो अवधिमा आवासीय चिकित्सकहरू बढीभन्दा बढी समय अस्पतालमा नै बिताउने अपेक्षा गरिएको हुन्छ । तर नेपालमा भने ‘ड्युटी आवर’ वैज्ञानिक ढंगले निर्धारण नभएकोदेखि सेवा सुविधा निकै कम भएको आवासीय चिकित्सकको गुनासो छ ।

‘स्वास्थ्य संस्था सञ्चालन गरिदिने सम्पूर्ण जिम्मेवारी आवासीय चिकित्सकको होइन। तर हामीमाथि कामको बोझ थोपरिएको छ,’ डा. घिमिरे भन्छन् । चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अध्ययनसँगै विशेषज्ञ चिकित्सक निगरानी रहेर बिरामीको सेवा गर्नुपर्ने हुन्छ । आवासीय चिकित्सकले अस्पतालमा भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ । बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ । आवासीय चिकित्सकले लगातार एक पटकमा ३६ घन्टासम्म ड्युटी गर्नुपर्छ, त्यो पनि महिनामा १०-१२ पटकसम्म। ‘खाना खाने, शौच गर्ने र रातको समयमा कुनै अनपेक्षित घटना भएन भने एकाध घण्टा ब्रेक हुन्छ । नभए ३६ घण्टामा ३४-३५ घण्टा काम गर्नुपर्छ,’ डा. घिमिरे भन्छन्, ‘ अब आवासकीय चिकित्सकलाई श्रम शोषण गर्न पाइँदैन। श्रमको उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्छ ।’